नेप्से सूचक १९०० विन्दु नजिक अलमलियाे

काठमाडाैं, १२ मंसिर । नेप्से सूचक १९०० विन्दु नजिक अलमलिएको छ। १९०० को विन्दुलाई लगानीकर्ताले मनोबैज्ञानिक अवरोधको रुपमा समेत लिएका छन्।

सोमबार र मंगलबार नै नेप्से सूचकले १९०० विन्दुलाई परिक्षण गरेको हो। नेप्सेले सो विन्दुलाई पार गर्न सकेको छैन्।

मंगलबार नेप्से सूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेकाे छ। यस दिन १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ बराबरको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर कारोबार भएकाे छ।

मंगलबार होटलमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। यस दिन होटल समूहको सूचक ३.३३ प्रतिशतले बढेको छ। अन्य ४ उपसमूहको सूचक सकारात्मक हुँदा ८ उपसमूहको सूचक नकारात्मक छ।

यस दिन बुद्धभुमी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, तारागाँउ रिजेन्सी होटललगायतको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक, मिड सोलु हाइड्रोपावर, विजय लघुवित्तलगायतको शेयरमूल्य उच्च दरमा घटेको छ।

मंगलबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको ६ करोड शेयर कारोबार भएकाे छ।