राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि दल दर्ता

काठमाडाैं, १५ मंसिर । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयाे । उहाँकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिनेछ।

मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ। पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ।

पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ।

पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगले उम्मेदवारको मनोनयनका लागि मिति भने तोकिसकेको छैन।