रुकुम पश्चिमकाे सोतीगाँउमा भएकाे हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
काठमाडौं, १७ मंसिर । रुकुम पश्चिमकाे सोतीगाँउमा भएकाे हत्या प्रकरणमा २३ जनालाई जन्मकैदकाे सजाय सुनाएकाे छ ।
जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको हाे ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
अदालतले ३ जनालाई जातीय छुवाछुतमा मात्र दोषी ठहर गर्दै जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । घटनामा संलग्नको आरोप लागेका ८ जनाले भने सफाइ पाएका जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए ।
नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् भने किशोरीका बाबुलाई जन्मकैदको सजाय सुनाइएको छ ।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।