नवलपरासीमा धान उत्पादनमा वृद्धि
नवलपरासी, २० मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।
“गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो ।
सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो ।
“जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “किसानले विषेश गरेर साँवा मन्सुली, सावित्री, रामधान, युस–३१२, अनदीलगायत जातका धान रोपेका थिए ।” जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाइने क्षेत्रफल भने गत वर्षको भन्दा बढ्ने प्रक्षेपण गरिएको छ ।
