काठमाडौँको तापक्रम निरन्तर घट्दो: चिसो अझ बढ्दै जाने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ६ पुस : काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा हिजाे यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको थियाे ।

काठमाडौँको न्यूनतम तापक्रम केहीदिन अघि ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंकाे तापक्रम अहिलेसम्मकै कम तापक्रम भएकाे र यो अझै घट्ने सम्भावना रहेकाे छ ।

चिसाे बढेपछि रूघा खाेकी लाग्ने र निमोनियासम्म हुनसक्ने सम्भावना भएकाले रोकथामका लागि सजग रहन आग्रह गरिएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया फैलिरहेकाेले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको बताउनुभयो ।

चीनका बालबालिमा कडा खालको निमोनिया फैलिरहेकाेले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्समा चेकजाँच कडाइ गरिएको बताउनुभयो । बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले नेपालमा यसअघि देखिएका भन्दा फरक र लामो समयसम्म निमोनियाका लक्षण देखिएका बिरामीको नमुना सङ्कलन गर्न सम्बद्ध सबैलाई निर्देशन दिइएको बताउनुभयो । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले उक्त निमोनियाको रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो ।

महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त ओझाले सम्भावित जोखिम कम गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरिएको बताउनुभयो । उहाँले चीनमा देखिएको निमोनिया कुनै नौलो किसिमको सङ्क्रमण नभएको र श्वासप्रश्वाससम्बन्धी रोग रहेको उल्लेख गर्दै सबै निकायलाई सचेत रहन आग्रह गरिएकाे छ ।