तपश्वी बमजनको बुढानीलकण्ठको घरबाट १५ वटा मोबाइल ३ करोड ३० लाख रूपैयाँ बरामद

काठमाडाैं, २५ पुस । तपश्वी रामबहादुर बमजनको घरबाट प्रहरीले १५ वटा मोबाइल ३ करोड ३० लाख रूपैयाँ बरामद गरेकाे छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले लामो समयदेखि खोजी गरिरहेका रामबहादुर बम्जन पक्राउ परेसंगै बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ तीन करोड ३० लाख ७५ हजार रूपैयाँ फेला पारेको हाे । बमजनको घरमा छापामार्दा प्रहरीले नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ।

ब्युरो प्रमुख किरण ब्रजाचार्यका अनुसार बमजनको घरबाट बरामद नेपाली रूपैयाँ हजार हजारको गड्डीहरू भेटिएको हाे । उहाँका अनुसार बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन् ।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएकाे आराेपमा रामबहादुर बमजनलाई प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।

प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *