राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित गरिंदै
काठमाडौं, २६ पुस । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित गरिंदै छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । दर्ता भएकाे मनोनयनमा उजुरीको जाँचबुझ आज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको आयोगले जनाएको छ ।
यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।