भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्छः उपप्रमुख डंगोल 

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
 
भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आज भूगोलपार्कमाआयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
 
उहाँले विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताउनुभयो । भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने बताउँदै उहाँले आगामी दिनमा विपद्बाट जोगिनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।
 
डङ्गोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औँ नम्बरमा पर्ने भएकाले कुनै पनि बेला भूकम्प आउन सक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्व तयारी गर्नुपर्ने बताउनुभयो ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा विसं २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको आठ दशमलव चार म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार  १९९० सालको भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो ।
 
उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी दुई लाख सात हजार दुई सय ४८ संरचना भत्किएका थिए ।
 
यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठलगायतले १९९० सालयताका भूकम्पमा परी मृत्युवरण गर्नुभएका व्यक्तिको सम्झनामा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
 
विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् । आज महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्न जरुरी भइसकेको बताइन् ।