प्रहरी समायोजन प्रक्रिया पन्ध्र दिनभित्र टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उहाँले उक्त निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री दाहालले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभएको हो ।
“सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसलाई नै बहाना बनाएर सङ्घीयता विरोधीले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस् ।”