एमालेले प्रधानमन्त्रीलाई बुझायो संकल्पयात्राका मागको ज्ञापनपत्र, नागरिकका माग दराजमा नथन्क्याउन आग्रह

काठमाडौं, ९ माघ । नेकपा (एमाल) ले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त भएका जनताका माग र समस्या सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नागरिकले राखेका माग समेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गर्नुभएको हो । पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभएको छ ।

मध्यपहाडको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले अध्यक्ष ओलीले जानकारी दिनुभयो । ‘जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्’, ज्ञापन(पत्र बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमा एमाले अध्यक्ष ओलीले लेख्नु भएको छ ।

ओलीले नागरिकबाट आएका मागलाई सरकारको नीति तथा कार्यक्रम समावेश गरी कार्यान्वयन गर्न माग गरेको बताउनुभएको छ । ‘मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु, प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ, यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्व अर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौँ’, ओलीले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *