दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, उपत्यका छाड्नेको चाप बढ्दो
काठमाडौं, २८ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नेपाली दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका छन्।
उपत्यकाका विभिन्न नाकामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्मको २४ घण्टामा काठमाडौंका विभिन्न नाका हुँदै ७८ हजार १३८ जना यात्रु बाहिरिएका छन्।
घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधन प्रयोग गरेर एक लाख ८७ हजार ७७४ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ जना यात्रु बाहिरिएका थिए।
दसैँ मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिएका छन्।
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई सवारीसाधन व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण यातायात सञ्चालन प्रभावित भएको बताए।
“दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उनले भने।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमै रोकिएका थिए। त्यसले पनि सवारीसाधन व्यवस्थापनमा समस्या थपेको व्यवसायीको भनाइ छ।
दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ जना यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ जना यात्रुले अग्रिम टिकट लिएका छन्।
यात्रुको चाप बढ्दै गएपछि यातायात महासङ्घले टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका नेपाली हरेक वर्ष चाडपर्व मनाउन घर फर्किने गर्छन्। यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको छ।
