महँगीले दसैँ खर्चिलो बन्दै, चीनतर्फका नाकामा पाँच अर्बका सामान रोकिए

काठमाडौं, २८ असोज । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ। तर, खाद्यान्न, लत्ताकपडा, तरकारी, फलफूल र मासुलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा यस वर्षको दसैँ सर्वसाधारणका लागि थप खर्चिलो र कष्टकर बन्दै गएको छ।

भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका बजारमा दसैँका लागि लत्ताकपडा तथा आवश्यक सामग्री खरिद गर्नेको चहलपहल बढेको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका दुईवटा नाका अवरुद्ध भएकाले अघिल्लो वर्षको तुलनामा विशेषगरी लत्ताकपडाको मूल्य बढेको हुन सक्ने उपभोक्ताको अनुमान छ। दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्यसमेत बढेको उनीहरूको गुनासो छ।

काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढेसँगै चाडपर्व मनाउनसमेत कठिन हुँदै गएको बताए।

“जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० देखि ५०० बढेको छ”, उनले भने, “दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ६०० ले बढेको छ। न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ।”

तिनकुनेकी स्मिता खत्रीले पनि लत्ताकपडाको मूल्य बढे पनि आफ्ना तीन सन्तानका लागि नयाँ लुगा किनिसकेको बताइन्।

“दसैँमा एकसरो लुगा त फेरिदिनुप¥यो नि”, उनले भनिन्, “सीमित आयस्रोत हुनेलाई दसैँ त दशा जस्तै हुने, के गर्नु नमनाएर पनि नहुने।” आम्दानीको स्रोत सीमित भएका परिवारलाई चाडपर्वको खर्च व्यवस्थापन गर्न कठिन भइरहेको सर्वसाधारणको भनाइ छ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यस वर्षको दसैँमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको बताए।

“बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ”, उनले भने, “अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ।”

तिमल्सिनाले नियमित बजार अनुगमन गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारी निकाय सक्रिय हुनुपर्नेमा जोड दिए। उनका अनुसार आपूर्ति शृङ्खला नियमित बनाउनुका साथै मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आवश्यक हस्तक्षेप गर्नुपर्ने देखिएको छ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा वस्तु आयात गर्न कठिनाइ भइरहेको बताए।

“चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ”, उनले भने, “चीनतर्फबाट दसैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ।”

चाडपर्वका लागि आयात गरिएका सामान समयमै बजारमा पुग्न नसक्दा आपूर्तिमा समस्या देखिएको व्यवसायीको भनाइ छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको बताए।

“अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ। अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ”, उनले भने।

महानिर्देशक शाक्यले सबै वस्तु तथा सामग्री तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढ्ने र मूल्यवृद्धिको गुनासोसमेत आउने भएकाले नियमित अनुगमन, आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रणमा सरकारी निकायको सक्रियता आवश्यक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *