नवरात्रिको चौथो दिन कालमोचन घाटमा तीर्थस्नान, टुकुचाको धार्मिक महत्त्व उजागर
नवरात्रिको चौथो दिन कालमोचन घाटमा तीर्थस्नान र दोला अजिमा पीठमा पूजाआजा गर्ने परम्परा, धार्मिक महत्त्व बोकेको टुकुचा संरक्षणमा चुनौती
काठमाडौं, २८ असोज । काठमाडौंको बीचोबीच भएर बग्ने टुकुचा खोला नवरात्रि मेलाको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पवित्र तीर्थस्थलसँग जोडिएको छ। मोहनी पर्वअन्तर्गत नवरात्रिको चौथो दिन आज टुकुचा र बागमती नदीको संगमस्थल कालमोचन घाटमा तीर्थस्नान तथा दर्शन गर्ने परम्परा छ।
बुढानीलकण्ठ क्षेत्रबाट उत्पत्ति भई काठमाडौंका विभिन्न स्थान हुँदै बग्ने टुकुचा त्रिपुरेश्वरस्थित पुरानो ब्लु बर्ड होटल नजिकबाट बागमती नदीमा मिसिन्छ। यही संगमस्थललाई कालमोचन घाट भनिन्छ। धार्मिक मान्यताअनुसार यहाँ टुकुचा खोलालाई कालमोचनी नदीका रूपमा चिनिन्छ। यस तीर्थलाई इक्षुमती तीर्थसमेत भन्ने गरिन्छ भने टुकुचाको स्थानीय नेपालभाषाको नाम ‘तुखुचा खुसि’ हो।
नवरात्रिको चौथो दिन बिहानै कालमोचन घाटमा स्नान गरी नजिकै रहेको दोला अजिमा पीठमा पूजा गर्ने परम्परा छ। कान्तिपुर दैनिकको कार्यालयसँगै रहेको दोला अजिमा पीठमा पूजाआजा गरेपछि यस दिनको धार्मिक विधि पूरा गर्ने चलन छ। कालमोचन घाटमा स्नान गरेमा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
थापाथलीस्थित हालको माइतीघर मण्डला रहेको क्षेत्रलाई स्थानीय नेपालभाषामा ‘फिब्व ख्यः’ भनिन्छ। यसको अर्थ बालुवा मिसिएको चौर हो। विगतमा चौरका रूपमा रहेको यस क्षेत्रको ठूलो भूभाग दोला अजिमाको जग्गा रहेको र पछि तत्कालीन राज्यले अतिक्रमण गरी निजी बनाएको स्थानीय धार्मिक तथा सांस्कृतिक इतिहासमा उल्लेख पाइन्छ।
धार्मिक महत्त्व बोकेको टुकुचा खोला भने पछिल्लो समय फोहोर, दुर्गन्ध र ढल मिसिने समस्याका कारण चर्चामा छ। राणाकालदेखि विभिन्न स्थानमा सुरुङ निर्माण गरी भूमिगत बनाइएको टुकुचा खोला अहिले नदी वा खोला के हो भन्ने बहससँगै यसको पुरानो स्वरूप र प्राकृतिक बहाव पुनःस्थापित गर्ने विषयमा पनि चर्चामा छ।
काठमाडौं महानगरपालिकाले भूमिगत टुकुचालाई विभिन्न स्थानमा उत्खनन गरी खुला गर्ने प्रयास गरिरहेको छ। बढ्दो सहरीकरण र घरबाट निस्किने ढल खोलामा मिसिँदा यसको धार्मिक महत्त्व, प्राकृतिक सौन्दर्य र पर्यावरणीय सन्तुलनमा चुनौती थपिएको छ।
धार्मिक आस्थाका दृष्टिले पवित्र मानिने टुकुचा र बागमतीको संगमस्थल कालमोचन घाटले काठमाडौंको प्राचीन धार्मिक परम्परा, स्थानीय संस्कृति र नदीसँग जोडिएको ऐतिहासिक पहिचानलाई प्रतिनिधित्व गर्छ। तर, यस तीर्थको धार्मिक तथा सांस्कृतिक महत्त्व जोगाउन खोलाको स्वच्छता र प्राकृतिक बहाव संरक्षणमा समेत ध्यान दिनुपर्ने देखिन्छ।
