राष्ट्रिय सभामा दलीय हैसियत उलटपुलट, गठबन्धनले माओवादीलाई फाइदा, एमाले तेस्रोमा
काठमाडाैं, ११ माघ । राष्ट्रियसभाका २० सांसदको पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार आज २० मध्ये १९ सीटका लागि निर्वाचन भएकाे छ ।
आज भएकाे निर्वाचनकाे मतपरिणमसँगै राष्ट्रिय सभामा दलीय हैसियत फेरिएको छ । अहिले पहिलो दल रहेको नेकपा एमाले आगामी फागुन २० गतेदेखि तेस्रोमा खुम्चिने भएको छ भने नेकपा (माओवादी केन्द्र) पहिलो दल हुनेछ । यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्नेछ । निर्वाचनमार्फत २ सिट जितेको नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सभामा उपस्थिति सङ्ख्या ८ नै कायम हुनेछ ।
आज भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले तथा जसपाले एक-एक सीट जितेका छन् ।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रियसभामा निर्वाचित भएका छन् । माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, नेकपा एमालेकी रुक्मिणी कोइराला, जसपाबाट पूजा चौधरी निर्वाचित भएर राष्ट्रियसभामा आएका छन् ।
१९ सांसदका लागि भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । एमालेले कोशी प्रदेशमा एक सीट जितेको छ ।
फागुन २० बाट कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव र नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटा बिदा हुँदैछन् ।
एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुँदैछन् ।