कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ समापन हुँदै
काठमाडौँ, ८ कात्तिक । धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बसेर मनाइने कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो बडादसैँ पर्व आज समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त हुन्छ। दसैँमा घरमा राखिएको जमरा आज नजिकको नदी, तलाउ वा पोखरीलगायत पवित्र तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ।
समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमा मनाउनुको पछाडि महालक्ष्मी राति पृथ्वी भ्रमणमा निस्कने र जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी धन, ऐश्वर्य तथा सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास रहेको छ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दुर्गा पक्ष अर्थात् दसैँ नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन्। नवरात्र विजयादशमीका दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ। माता दुर्गाका तीन प्रमुख रूपमध्ये एक महालक्ष्मीको पूजा आराधना गरी दुर्गा पक्षलाई बिदाइ गरिन्छ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको मानिन्छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। धार्मिक परम्पराअनुसार आज राति जुवा खेल्ने चलनसमेत रहेको छ। महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ।
समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुनेछ। आकाशदीपदान पनि सोही दिन साँझदेखि सुरु गरिनेछ।
