पोलियो उन्मूलनको सन्देशसहित सात सम्पदा स्थलमा ५०० भन्दा बढी साइकलयात्री
विश्व पोलियो दिवस
काठमाडौँ, कात्तिक ८ । विश्व पोलियो दिवसको अवसरमा काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई जोड्दै शनिबार ५०० भन्दा बढी साइकलयात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित मेगा साइकल र्याली आयोजना गरेको हो ।
भक्तपुर दरबार स्क्वायरबाट सुरु भएको र्याली चाँगुनारायण, बौद्धनाथ, पशुपतिनाथ, स्वयम्भूनाथ र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्यालीले काठमाडौँ उपत्यकाका सातवटै युनेस्को विश्व सम्पदा स्थललाई समेटेको थियो ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ । र्यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकलयात्री तथा अन्य सहभागीको उपस्थिति थियो ।
र्यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बेसडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायत विभिन्न रोटरी क्लबका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम रोटरी क्लब अफ आरसी भक्तपुरले आयोजना गरेको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतना आवश्यक रहेको बताउनुभयो । बालबालिकाको स्वास्थ्य सुरक्षा परिवारको मात्र नभई समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले पोलियोजस्ता रोगबाट बच्न नियमित खोप लगाउनुपर्नेमा जोड दिनुभयो । यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्याउन सहयोग गर्ने उहाँको भनाइ थियो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । रोटरी पोलियो ब्रान्ड एम्बेसडर धकालले पनि पोलियोबारे जनचेतना फैलाउन सबै पुस्ताको सहभागिता महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
रोटरी क्लबका अध्यक्ष दशरथ प्रजापतिले पोलियो उन्मूलन तथा जनस्वास्थ्यसम्बन्धी सन्देश प्रवाह गर्ने यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो ।
हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई सुदृढ बनाउने उद्देश्य राख्छ । दिवसका अवसरमा नियमित खोपको महत्त्व, रोगसम्बन्धी जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा जोड दिइन्छ ।
