२४ बर्षपछि पचली भैरवकाे १२ बर्षे खड्गसिद्धि नाच पाटनमा

काठमाडाैं, २६ माघ । पचली भैरवको १२ बर्षे खड्गसिद्धि नाचको देवगणहरु २४ बर्षपछि पाटनमा नचाइने भएकाे छ । पछिल्लो पटक २४ बर्ष अघि पाटनमा भएको यो नाच यस बर्षदेखि फेरी निरन्तर हुन लागेको हो ।
पचली भैरव १२ बर्षे खड्ग सिद्धि जात्रा समितिका संयोजक एवम् गुरु भरत मालीका अनुसार यस अघि २०५५\०५६ साल तिर पचलीका देवगणहरु पाटनमा नाचेको थियाे ।
यही आउँदो २६ गते शुक्रबार बेलुका र २७ गते शनिबार दिनभरी उक्त नाच पाटनमा नचाइनेछ । संयोजक भरत मालीका अनुसार पछिल्लो पटक सम्पर्क व्यक्तिहरु कोहि नहुँदा नाच पाटन ल्याउने परम्परा रोकिएको हो । यसपटक भने ललितपुर महानगरपलिकासँग नै समन्वय गरेर यो नाच संचालन गर्न लागेको हाे।
यो नाचको सम्पूर्ण व्यवस्थापन ललितपुर महानगरले गरेको संग्रहालय प्रमुख सुरेश लाखेले बताए । भोलि २६ गते शुक्रबार पचली भैरव देवगणहरु पाटनढोकाको गणेश मन्दिरसँगैको सतलमा पुगेपछि विधिवत पूजा सम्पन्न गरी देवगणहरु मुकुट पोशाक लगाई त्यहाँबाट निस्कनेछन् ।
त्यसपछि बालिफल, नकबहिल, धलाचा, पट्को, भीमसेन मन्दिर, पाटन दरवार स्क्वाएर हुँदै हःखा कोत पुगेपछि नाच शुरु हुने मालीले जानकारी दिए ।
हःखा पुगेपछि भैरवको नाच हुने र त्यसपछि बलिपूजा गरेपछि शुक्रबारको नाच सम्पन्न हुनेछ ।
त्यस्तै शनिबार बिहान १० बजेदेखि पुनः गणेशको नाचबाट विधिवत रुपमा नाच शुरु हुने र साँझ बलिपूजा सम्पन्न गरि अजिमाको दैत्यवधको नाच भएपछि देवगणलाई पाटनबाट बिदाई गरिने कार्यक्रम रहेको छ ।