‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताउनुभएको छ ।

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

“सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डेटा विज्ञान, मेसिन लर्निङ, इन्टरनेट अफ थिङस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भन्नुभयो, “यसका लागि कृत्रिम बौद्धिकतासम्बन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”

सरकारले उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्रीले प्रस्तावित १६औँ आवधिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *