राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं , २८ फागुन । ​राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

सचिवालयका अनुसार साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंगलबार बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्।

माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन्। यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *