राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै, दाहाल र शर्मा चुनावी मैदानमा
काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि आज निर्वाचन हुदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा निर्वाचन प्रक्रिया अघि बढाउने संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्षका लागि दुई जना उम्मेदवार प्रतिष्पर्धामा छन् । नयाँ बनेको सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा चुनावी मैदानमा छन् ।
निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो ।
राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए ।
कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।