माइली राईलाई लालीगुराँस बाटिकाबाट ११ हजार आर्थिक सहयोग

काठमाडौं, १ चैत । काठमाडौंको कोटेश्वर नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले माइली राईलाई आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएकी माइली राईलाई उनीहरुले एकआपसमा संकलन गरेर आर्थिक सहयोग गरेका हुन् । दिवंगत पतिको शवलाई रिक्सामै डोर्‍याउँदै पशुपति आर्यघाट पुर्याएको खवरपछि उनीहरुले राईलाई ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

पतिको पारलौकिक कर्ममा बसेकी माइलीलाई शिक्षक र विद्यार्थीहरूले एकआपसमा संकलन गरेको रकम पशुपति क्षेत्रमै पुगेर हस्तान्तरण गरेका हुन् । ‘हामी विद्यालय परिवारलाई छोयो। हामीले सहयोग गर्यौँ। तर शहर गरिब बस्न सक्ने ठाउँ चाहिँ रहेनछ,’ विद्यालयका प्राचार्य हरि शिवाकोटीले भन्नुभयो, ‘हामीलाई त गाउँ नै ठिक छ। छिमेकी छन्। आड भरोसा छन्। मर्दा छिमेकी छन्। पर्दा छिमेकी छन्। पैसा नभएको कारण कुनै विधवाले लास तान्न पर्दैन। बोक्न पर्दैन गाउँमा। किनकी त्यहाँ अझै मानवता जीवित छ। तर शहर किन यति क्रुर हुदै गएको ? सोच सबैले सच्याऔँ ।’ माइलीसँग पैसा नहुँदा शवबहानले उनका पतिको शव नलगेको थाहा पाउँदा मानवता हराएको महसुस भएको उनले बताए।

‘पैसा नहुँदा शववाहनले लगेन। छिमेकीले महानगरको निस्शुल्क शववाहनलाई बोलाइदिएको भए सायद ठेलामा श्रीमानको लास ठेल्दै शवदाह गृहमा पुऱ्याउनु पर्दैनथ्यो होला’, उनले भने, ‘पैसा नभएपछि विद्युतीय शवदाह गृहले पनि जलाउँदैन।’