जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने
बर्दिया, १ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनको एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते ठेक्का सम्झौता भएको हो ।
कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।
ठेक्का प्रक्रियामा चार निर्माण कम्पनीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।
जब्दीघाटको पुरानो पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो । तर, हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको पुल विसं २०७९ को बाढीले थप क्षतिग्रस्त बनाएको थियो । बाढीले तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको थियो ।
पुल नहुँदा स्थानीयवासी शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्न बाध्य छन् । गुलरिया नगरपालिका–४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुम्नुपर्ने अवस्था छ ।
बारबर्दिया नगरपालिका–११ की मेनका चौधरीले नयाँ पुल निर्माणको सम्झौताले वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा जगाएको बताउनुभयो ।
उक्त पुल पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै गुलरिया र नेपाल–भारत सीमाको रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै सीमावर्ती क्षेत्रको सडक सम्पर्कसमेत प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
