टोड्केमा फस्टाउँदै व्यावसायिक टमाटरखेती, वार्षिक एक करोड २० लाखको कारोबार

इलाम, १ मङ्सिर । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको मुख्य केन्द्रका रूपमा विकसित हुँदै गएको छ । गाउँका ८० वटै घरपरिवार व्यावसायिक टमाटरखेतीमा आबद्ध भएसँगै यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुन थालेको हो ।

परम्परागत अन्नबालीको तुलनामा टमाटरबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका हुन् । वडाध्यक्ष प्रदीप साङपाङका अनुसार टोलका शतप्रतिशत घरधुरीले व्यावसायिक रूपमै टमाटर लगाएका छन् । “यहाँबाट वार्षिक एक करोड २० लाखभन्दा बढीको टमाटर बाहिरिन्छ,” वडाध्यक्ष साङपाङले भन्नुभयो, “टोड्केलाई टमाटरको ‘पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना अघि सारेका छौँ ।”

उत्साहित किसान, विस्तार हुँदै खेती

एक दशकदेखि व्यावसायिक टमाटरखेती गर्दै आउनुभएका स्थानीय अगुवा किसान प्रदीप राईले यस वर्ष खेती विस्तार गर्नुभएको छ । गत वर्ष चार हजार ५०० बोट टमाटरबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएका राईले यस वर्ष १५ रोपनी जग्गामा सात हजार ५०० बोट लगाउनुभएको छ ।

अगुवा बोटमा फल टिप्न सुरु भइसकेको जानकारी दिँदै राईले भन्नुभयो, “यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने अनुमान छ । गत वर्ष सिजनको सुरुमा प्रतिकेजी ५० र अन्त्यतिर ९० रुपैयाँसम्ममा बिक्री भएको थियो । अहिले ५० रुपैयाँ केजीमा बिक्री भइरहेको छ, मूल्य यस्तै रहे सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।”

टमाटरखेतीकै आम्दानीले घरखर्च र छोराछोरीको शिक्षादिक्षा धान्दै आउनुभएकी पूर्वकार्यपालिका सदस्य मनिषा राईले गत वर्ष चार लाख रुपैयाँ भित्र्याउनुभयो । उहाँले यस वर्ष पनि तीन हजार बोट टमाटर लगाउनुभएको छ । उहाँका अनुसार टोड्केका अधिकांश परिवारको जीविकोपार्जनको मुख्य आधार नै टमाटर बनेको छ । यस्तै, अघिल्ला वर्षहरूमा दुई–तीन हजार बोट लगाउने किसान विनोद राईले पनि राम्रो मुनाफा देखेर यस वर्ष पाँच हजार बोटमा खेती विस्तार गर्नुभएको छ ।

बाली चक्र र सहज बजारीकरण

रोपेको करिब ७० दिनमा उत्पादन दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म फल फल्ने किसानको अनुभव छ । टोड्केमा विशेषगरी असोजदेखि पुससम्म टमाटरको मुख्य सिजन चल्छ । वर्षको छ महिना टमाटर लगाएपछि बाँकी समयमा सोही बारीमा मकैखेती गर्ने गरिएको छ, जसले गर्दा बाली चक्र कायम रहनुका साथै माटोको उर्वराशक्तिसमेत जोगिएको किसानहरू बताउँछन् ।

उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म पुग्ने गरेको छ । निर्माणाधीन बिपी मार्गको स्तरोन्नतिसँगै ढुवानी सहज भएको स्थानीय किसान मनुकुमार राईले बताउनुभयो । “व्यापारीहरू गाडी लिएर बगानमै खरिद गर्न आउँछन्,” राईले भन्नुभयो, “सडक सुविधाले गर्दा उत्पादन खेर जाने वा बजार नपाउने चिन्ता हटेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *