जाडो बढेसँगै लक्ष्मीमार्गमा भक्काको व्यापार, २२ वर्षदेखि स्वादको पहिचान जोगाउँदै माल्दा

मोरङ, १ मङ्सिर । जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ स्थित लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थालेको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा भक्का पकाएर बिक्री गर्नेहरूको चहलपहल बढेको छ । यही चहलपहलबीच डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी पनि व्यस्त बनेको छ ।

राजवंशी विगत २२ वर्षदेखि प्रत्येक जाडोयाममा लक्ष्मीमार्ग आएर भक्का बनाउँदै बिक्री गर्दै आउनुभएको छ । उहाँले २२ वर्षअघि प्रतिगोटा एक रुपैयाँमा भक्का बिक्री गर्न सुरु गर्नुभएको थियो । अहिले त्यसको मूल्य बढेर १० रुपैयाँ पुगेको छ ।

चामल, दाउरा तथा भक्का बनाउन आवश्यक अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार दैनिक करिब पाँच किलो चामलबाट तयार पारिएको भक्का बिक्री हुने गरेको छ । एक किलो चामलको पिठोबाट औसत २० वटा भक्का तयार हुन्छन् ।

जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का खाने ग्राहकको सङ्ख्या बढ्ने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने गरेको उहाँको भनाइ छ ।

राजवंशी समुदायको मौलिक परिकारका रूपमा परिचित भक्का पछिल्लो समय पूर्वी तराईका चोक तथा बजारमा लोकप्रिय खाजा बनेको छ । चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय बासिन्दादेखि यात्रुसम्मको रोजाइमा पर्न थालेको छ ।

नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको परम्परागत परिकार भक्का अहिले जातजाति र वर्गको सीमाभन्दा माथि उठेर सबैको साझा खाजा बनेको छ । पहिले घरायसी प्रयोजनका लागि मात्रै बनाइने भक्का पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरीका विभिन्न चोक तथा बजारमा जाडोयामलाई लक्षित गरी भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढ्दो छ । यसले परम्परागत खानाको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसरसमेत सिर्जना गरेको छ ।

भक्का बनाउन चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर मोटो पिठो तयार गरिन्छ । त्यसपछि उक्त पिठोलाई माटोको सानो हाँडीमा राखेर कपडाले छोप्दै केही मिनेट बाफमा पकाइन्छ । यसरी तयार भएको भक्का नरम, सेतो र स्वादिलो हुन्छ ।

लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा अझ स्वादिलो हुन्छ ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहनुभएका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट व्यवसायीले दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यसले विशेषगरी न्यून आय भएका परिवारलाई हिउँदको समयमा आर्थिक सहारा प्रदान गरेको छ ।

भक्का व्यवसायमा महिलाको आकर्षण पनि बढ्दै गएको छ । घरायसी कामकाजसँगै बिहान वा केही घण्टा भक्का बनाएर बिक्री गर्दा अतिरिक्त आम्दानी गर्न सकिने भएकाले स्थानीय गृहिणीहरू यस पेसातर्फ आकर्षित भएको बस्नेत बताउनुहुन्छ ।

मौलिक स्वाद र परम्परागत पहिचान बोकेको भक्का अहिले पूर्वी तराईको लोकप्रिय खाजा मात्र बनेको छैन, ग्रामीण तथा सहरी क्षेत्रमा बसोबास गर्ने धेरै परिवारको हिउँदे आम्दानीको आधारसमेत बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *