ओलीका नजरमा हमाल शालीन, हमालका नजरमा ओली संघर्षका लागि प्रेरक व्यक्ति (भिडियो)

काठमाडौं, २ चैत । प्राय राजनीतिक दलहरुका कार्यक्रम हुने र मञ्चबाट राजनीतिक दलहरुले राजनीतिक भाषण गर्ने राष्ट्रिय सभागृहमा आज फरक खालको दृष्य देखियो । सभागृहको मञ्चमा आज पनि पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । अनि महानायकको उपाधि प्राप्त कलाकार राजेश हमाल ।

यो अवसर ‘सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ ले जुराएको थियो । कार्यक्रममको नाम सिनेमा संवाद थियो भने राजेश हमाल प्रश्नकर्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो । करीब डेढघण्टा जति हमाल र ओलीबिच सिनेमा संवाद भयो ।

सुरुमै हमालले ‘म राजनीतिक मान्छे होइन तर, तपाईँसँग मेरो अरु नेताहरुसँग भन्दा नजिकको सम्बन्ध छ’ भन्दै ओली प्रधानमन्त्री भएका बेला सन् २०१८ मा भारत भ्रमणमा आफूलाई पनि सहभागी गराएको स्मरण गराउँदै संवादको अघि बढाउनु भयो ।

हमालले कला र चलचित्रबारे केही चर्चा गर्दै ओलीलाई ‘कलालाई कसरी लिनु भएको छ ?’ भन्दै पहिलो प्रश्नबाट संवाद सुरु गर्नुभयो । ओलीले पनि जीवन भनेकै कलासँग सम्बन्धित छ भन्दै मानव विकासको सभ्यता पनि कलासँग सम्बन्धित तथ्य खोतल्नुभयो ।

करीब डेढ घण्टाको संवादमा कला, साहित्य, धर्म, संस्कृति आदिका विषयमा मात्रै बहस भएन । त्यहाँ विश्व परिवेशका बारेमा पनि गर्विला संवाद भए ।  ओली र हमालबिचको संवाद चलिरहेका बेला आयोजकका तर्फबाट सयमसीमाको साँघुरो रहेको भन्दै उहाँहरुको संवादलाई टुङ्ग्याउन आग्रह गर्दै दर्शकदीर्घाबाट प्रश्नोत्तरका लागि आग्रह भयो ।

दर्शकदीर्घाबाट एकजनाले राजेश हमालको नजरमा केपी शर्मा ओली र केपी शर्मा ओलीको नजरमा राजशे हमाल कस्तो लाग्छ ? भन्दै दुबै जनाबाट जवाफको अपेक्षा गरियो । संवादमा प्रश्नकर्ताका रुपमा रहनु भएका हमालले पहिला ओलीलाई बोल्न आग्रह गर्नुभयो ।

राजेश हमालबारे चर्चा गर्दै ओलीले आफ्नो परिचित शैलीमा हमाल विद्वान, शालीन र सुन्दर भन्दै उहाँको राम्रो अभियनको खुलेर प्रसंसा गर्नुभयो । ‘राजेशजीले अभिनय गर्दा आफू को थिए भन्ने विर्सिनुुहुन्छ,’ ओलीले भन्नुभयो, ‘समाजसँग घुलमिल हुन मन पराउने उहाँको शैली मलाई मनपर्छ ।’ ओलीले त्यति भन्दा हलबाट तालीका आवाज गुञ्जायमान भए । हमाल पनि नायक शैलीमा मुस्कुराउनुभयो ।

त्यसपछि उहाँले ओलीबारे चर्चा सुरु गर्नुभयो । उहाँले सुरुमा मानिसको पूर्ण जीवनबारे चर्चा गर्दै भन्नुभयो– ‘मानिले एउटा विन्दुबाट आफ्नो जीवन थालनी गर्छ । उस्ले यस्तो विन्दुमा थालनी गर्छ कि । उसको जीवनको अर्को विन्दुमा पुग्दा के हुन्छु, कस्तो हुन्छु भन्ने कल्पना पनि नगरेको अवस्थामा पुगेको हुन्छ ।’

उहाँले मान्छेको जन्म सफलतामा भयो र सफलतामै मृत्यु भयो भने त्यो पूर्ण जीवन नहुने उल्लेख गर्दा ओलीले ‘ठिक भन्नुभयो’ भन्दै समर्थन गर्नुभयो । उहाँले असफलतामा जन्म भएर असफलतामै मृत्य भयो भने त्यो पनि पूर्ण जीवन नहुने तर्क पेश गर्नुभयो  । यति भूमिका बाँधेपछि हमालले ओलीको जीवनलाई पूर्ण जीवनका रुपमा अर्थ लगाउनुभयो । ‘उहाँ (ओली)को जीवनबाट हामीले प्रेरणा लिनुपर्छ,’ ओलीतिर देखाउँदै हमालले भन्नुभयो, ‘मान्छेको जीवन जस्तोसुकै वातावरणमा सुरु भए पनि मान्छेले आफ्नै प्रतिवद्धता, कर्म, सोचाईबाट आफ्नो जीवनलाई अर्को चरणमा पुर्याउन सक्छ । त्यो पक्ष उहाँमा देख्छु ।’

हमाल त्यसपछि पनि ओलीको प्रसंसामा रोकिनु भएन । उहाँले सबै वातावरण्मा घुलमिल हुने र सबैसँग मिल्ने ओलीको शैलीसँग पनि आफू सकारात्मक रहेको बताउनुभयो । ‘राजनीतिज्ञ, पत्रकार, कलाकार, विद्वान चाहे जो होस् तपाईँको जस्तो खुवी मैले अरुमा देखेको छैन,’ हमालले भन्नुभयो, ‘तपाईँका समकालिन नेताहरुमा तपाईँको जस्तो सहजता म देख्दिन् । तपाईँको संघर्षबाट प्रेरणा लिने ठाउँ प्रसस्त छ ।’ हमालले त्यसो भन्दा ओली पनि मुस्कुराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *