४७ थरीका औषधिको नयाँ उत्पादन र आयातमा रोक, बजारमा रहेका औषधि बिक्री गर्न पाइने

काठमाडौँ, २८ असोज। औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक मापदण्ड पूरा नगरेका ४७ थरीका औषधिको नयाँ उत्पादन र पैठारीमा रोक लगाएको छ। तर, बजारमा यसअघि नै बिक्री वितरण हुँदै आएका ती औषधिको बिक्रीमा भने रोक लगाइएको छैन।

विभागका अनुसार असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिका उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिसपत्रलगायत खारेज गरिएको हो।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार सार्वजनिक सूचना जारी गर्दै विभिन्न कम्पनीका ४७ थरीका औषधिको नयाँ आयात तथा उत्पादनमा रोक लगाइएको हो। ती औषधिले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसारका आवश्यक मापदण्ड पूरा नगरेको विभागले जनाएको छ।

विशेषगरी ‘इम्युनोसप्रेस्यान्ट’ वर्गका औषधिको गुणस्तर र सुरक्षासँगै एक औषधिबाट अर्को औषधिमा दूषण सर्ने अर्थात् ‘क्रस कन्टामिनेसन’को जोखिम न्यूनीकरण गर्न विभागले यसअघि नै जोखिम मूल्याङ्कनसम्बन्धी सूचना जारी गरेको थियो। २०८३ जेठ २१ गते जारी सूचनाअनुसार औषधिको जोखिम मूल्याङ्कनसम्बन्धी प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति शृङ्खला सन्तुलित राख्न बढीमा तीन महिनाका लागि उत्पादन वा पैठारी अनुमति प्राप्त औषधि आयात गर्दा सम्बन्धित उत्पादक तथा पैठारीकर्ताले प्रज्ञापनपत्र र हालको मौज्दात विवरण विभागमा तत्काल पेस गर्नुपर्नेछ।

विभागले त्यस्ता औषधिको प्रयोगबाट कुनै व्यक्तिमा प्रतिकूल असर परेमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि प्रदान गर्ने निकाय वा व्यक्ति तथा प्रयोग गर्ने व्यक्तिले नै लिनुपर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *