बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु
बाँके, ४ चैत । बाँकेमा बाघको आक्रमणबाट एकजना बृद्धको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा बाघले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिनुभयो ।
मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आउनुभएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई बाघले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ । मृतकको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज भेरी अस्पतालमा पठाइएको छ ।