सनराइजबाट ओलीको उद्घोषः तत्काल वामएकता संभव छैन

ललितपुर, १० वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले तत्कालका लागि वाम एकता नहुने प्रष्ट पार्नु भएको छ । नेकपा (एमाले)ले गोदावरीको सनराई सम्मेलन केन्द्रको हलमा आयोजना गरेको हीरक समारोहमा सम्वोधन गर्दै ओलीले यस्तो प्रष्ट पार्नु भएको हो ।

‘हामी सहकार्यका लागि सहमतिका लागि अघि बढौँ । अहिले यतिबेला ठ्क्याक्कै वामपन्थीहरु मात्रै मिलेर अघि बढ्ने अवस्था होइन,’ उहाँले भन्नुभयो, ‘सहकार्यका माध्ययमबाट एकताको विन्दुसम्म भने पुग्न सकिन्छ ।’

ओलीले देशभक्त शक्तिहरुसँग मिलेर अघि बढ्ने कुरामा एमाले मञ्जुर रहेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘देशको पक्षमा सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधिनताका पक्षमा, स्वतन्त्रताको पक्षमा, भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरुको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा उँभिनेहरुबिच सहकार्य गरेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नगर्ने र गर्न नदिने, विकासलाई अघि बढाउनुपर्छ भन्नेहरुका विचमा पनि सहकार्य गरेर अघि बढन् सकिन्छ । साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका शक्तिहरुबचि सहकार्य सम्भव छैन ।’

उहाँले विभिन्न जातजाति, भाषाभाषी रहेको भन्दै हाम्रा आफ्नै खालका विश्वासहरु रहेको पनि उल्लेख गर्नुभयो । ‘तिनीहरुलाई सम्मान गर्न छाडेर, तिनका बिचमा अविश्वास बढाउने खालका क्रियाकलापप्रति हाम्रो मञ्जुर छैन,’ उहाँले भन्नुभयो, ‘त्यस्ता क्रियाकलापले देश विथोलिन्छ, अनेकता हुन्छ । देशले सामाजिक सद्भाव कायम गर्दैन । एकताबद्ध भएर राष्ट्र निर्माण गर्ने महान अभियानलाई त्यसले कुठाराघात गर्दिन्छ ।’

उहाँले सिङ्गो देशलाई एकताबद्ध कसरी गराउन सकिन्छ भने विषयमा उल्लेख गर्दै भन्नुभयो– ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौँ सवल बनऔँ । यसलाई माध्ययम बनाएर शुसासन र विकासको बाटोमा अघि बढौँ । साम्प्रदायिक विद्वेष होइन सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गरौँ । यसबाट एकताबद्ध भएर अघि बढ्न सकिन्छ । लोकतन्त्रको विकल्प खोज्ने होइन, लोकतन्त्रको रक्षा गर्ने हो । त्यस मामिलामा सिङ्गो देश एक हुनसक्छ, हुनुपर्छ ।’

एउटा कुनातिर बसेर केही मान्छेहरु केही देखिहाल्यो भने हौसिएर प्रतिगमनका कुरा गरिहाल्ने खालका कुराहरु छाडौँ भन्दै उहाँले साम्प्रदायिक विद्वेष भड्काउने कुरा पनि छाड्न आग्रह गर्नुभयो ।

उहाँले हिजो पनि विभिन्न विभिन्न अञ्चलहरुका नाम नदी र भूगोलबाट नामाकरण भएको स्मरण गराउँदै अहिले तथाकथित संवेदनशिलताका नाममा पहिचानको मुद्धा बनाएर हिंसातिर उचाल्न, बहकाउन र भड्काउन खोज्ने प्रवृत्ति गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले त्यस्ता कुरा उचित नहुने पनि उल्लेख गर्नुभयो । ‘त्यसका लागि समाधान गर्न बाटो छ, निकाय छ, संस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा बसेर छलफल गरेर शान्तिपूर्ण बाटोबाट समाधान गर्न सकिन्छ ।’ उहाँले युद्धले होइन वार्ताले मात्रै समाधान खोज्ने सकिने पनि उल्लेख गर्नुभयो । यो भयो भने मात्रै लोकतन्त्रको रक्षा, देशको सार्वभौमसत्ताको रक्षा गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सकारकारमा नयाँ समीकरण बनेको भन्दै यो समीकरण सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधिनताका पक्षमा, स्वतन्त्रताको पक्षमा, भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरुको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा अहिलेको सरकार लाग्ने पनि उल्लेख गर्नुभयो । उहाँले गरिबीको अन्त्य अहिलेको सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *