१० दिन अगाडी छोडपत्र भएकाे थियाे अमलदार शालिकरामकाे, ११ औं दिनमा गरे हत्या

काठमाडौं, २५ जेठ, । दाङकाे तुलसीपुरमा श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरेका नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीकाे १० दिन अगाडी छोडपत्र भएकाे खुलेकाे छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको खुलेकाे हाे । छोडपत्र भइसकेकी श्रीमतीको आज बिहान हत्या भएकाे थियाे ।

सल्यानको कपुरकोट गाउँपालिका ६ घर भएका शालिकराम बुढाथोकीले करिब ३० वर्षीया टीका रावतलाइ धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उनी ज्वालादल गण बारामा कार्यरत थिए ।

छोडपत्र भए पनि केही लाख लेनदेन बाँकी रहेकाेले आफ्ना सामान लिन भनेर शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुग्दा विवाद भएपछि घटना भएको डिएसपी पोखरेलकाे भनाइ छ ।

प्रहरीका अनुसार अमलदार बुढाथोकीले अछामको कमलबजार नगरपालिका घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापालाई पनि आक्रमण गरी घाइते बनाएका छन् । टाउको र काखीमा चोट लागेका थापाको उपचार जारी छ ।