ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले काठेपुल बगायो
काठमाडौं, ३१ जेठ । गएरातिदेखि परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ ।
काठेपुल बगाएपछि सवारीसाधन र स्थानीय आउजाउ बन्द भएकाे छ भने फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।
फक्तालुङ गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद लिम्बुका अनुसार काठेपुल बगाएपनि मानवीय क्षति अहिलेसम्म भएको छैन ।
वडाध्यक्ष लिम्बुले सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको जानकारी दिए । ‘माथि त खासै जोखिम छैन । तल तमोर थुनिएर अलि त्रास बढेको छ । ड्याम बनेको छ’, उनले भने, ‘पानी अहिले अलि कम भएको छ । विस्तारै सुक्दै जाला कि !’
वडाध्यक्ष लिम्बुले बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको बताए । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । ‘अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख रवीन्द्रप्रसाद आचार्यले थुनिएको तमोर अहिले खुलिसकेको जानकारी दिए ।