मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छः सभामुख घिमिरे

काठमाडौँ, १४ असार । प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताउनुभएकाे छ।

बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राख्नुभयो । “मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने बताउनुभयो । ३० वर्षअघि रहस्यमय मृत्युवरण गर्नुभएका भण्डारीको समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उहाँले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाउनुभएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कलेजका प्राचार्य डा बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताउनुभयो । त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उहाँले बताउनुभयो ।