रामेछाप प्रहरीले गर्याे सडक सरसफाई, अभियानकै रूपमा प्रत्यक हप्ता गरिने
रामेछाप, १ साउन । संधैजसाे शान्ति सुरक्षामा लागिरहने जिल्ला प्रहरी कार्यालय रामेछापले सडक सरसफाई गरेकाे छ ।
प्रहरीले मन्थलीस्थित प्रहरी चौकीदेखि बसपार्कसम्मको सडक सरफाई गरेको हाे । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापकाे आयोजनामा उक्त सडक सरसफाई कार्यक्रमा गरिएकाे हाे ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रामेछाप, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी र रामेछाप उद्योग वाणिज्य सङ्घ, तथा मन्थली नगरपालिका–१ का वडाध्यक्ष होमप्रसाद पौडेलको सहभागितामा रहेकाे थियाे ।
सडक तथा सडकको दायाँ बाँया किनारामा झाडी र फाेहाेरका कारण सडक दुर्घटना बढेकाे भन्दै सफा, सुन्दर र सुरक्षित रामेछापकाे अवधारणा अभियानकै रूपमा प्रत्यक हप्ता सरसफाइ गरिंदै आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताउनुभयाे ।
सरसफाइका क्रममा सडकमा रहेको फोहार उठाएर सुरक्षित व्यवस्थापन गरिनुका साथै सडकको दाँयाँबाँया सडकमा बाधा पुर्याएका झाँडी तथा बुट्यानहरु पन्छाइएको छ । उक्त क्षेत्रमा रहेका स्थानीयको घर आगनमा रहेका फोहोर समेत सरफाई गर्नुका साथै घरबेटीहरुलाई आफ्नो घर वरिपरि सरसफाई गरी सफा राख्न पनि सुझाव दिइएको डिएसपी सिंहले बताउनुभयाे ।
प्रत्येक साताको शुक्रवार बिहान ७ बजेदेखि ८ बजेसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिने पनि डिएसपी सिंहले बताउनुभयाे । प्रहरी कार्यालयको आयोजनामा सञ्चालन हुने सप्ताहव्यापी सरसफाई कार्यक्रममा आगामी दिन सहभागि भइदिन स्थानीयवासी तथा सरोकारवाला सङ्घसंस्थाहरुलाई पनि अनुरोध गरिएको छ । सफा र सुन्दर नगर बनाउने उद्देश्यले सरसफाई कार्यक्रमको सुरुवात गरिएको हाे ।