झापामा यस वर्ष चार हात्ती मरे

झापा, ३ साउन । झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

विगत १४ वर्षको तथ्याङ्क हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७/६८ देखि आव २०७९/८० सम्म एक–दुई र आव २०७५/७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले रु १० लाखका दरले रु ४० लाख र अन्य क्षति (घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको) बापत रु ३० लाख क्षतिपूर्ति पाएका छन् । हात्तीको आक्रणमा घाइते भएकालाई रु दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउनुहुन्छ ।

“झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।” हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उहाँ बताउनुहुन्छ ।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि रु एक करोड ५० लाख राहत माग गरिए पनि रु ७० लाख मात्र आएको कार्यालय प्रमुख राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राहत रकम बेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौं ।” झापामा आव २०६७/६८ देखि आव २०८०/८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । त्यसमध्ये सातजना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *