भोजपुरका स्थानीय श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गर्दै
भोजपुर, ६ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् ।
वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो ।
वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो । “ अवरूद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ । खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ । खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ ।”
राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराेले बगाउँदा आवतजावतमा समस्या भएको उहाँले जानकारी दिनुभयो । करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताउनुभयो । वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उहाँले बताउनुभयो ।
यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन् । सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताउनुभयो ।