कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड तयारी

काठमाडौं, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सम्भव भएसम्म आजै सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

नतिजा सार्वजनिक गर्नका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डकाे तयारी बैठक बसिरहेको छ ।

बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयाे । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो ।

बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गर्नेछ ।