गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल

नवलपरासी, २८ साउन । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ ।

तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताउनुभयो । पछिल्लो दुई महिनामा रु तीन लाख ६० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड रु ३० हजार आम्दानी भइरहेको रिमालले उल्लेख गर्नुभयो । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब रु १५ हजार लागनी हुने जनाउँदै दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

रिमालका अनुसार प्रतिकिलो रु २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । “मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो रु २५ का दरले बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।”

गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही गोरखा र चितवन जिल्लामा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिनुभयो । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

रिमालले भन्नुभयो, “गँड्यौलापलनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।” गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

“अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादित मल प्याकिङ गरेपछि आफैले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु ।” पशुपालक किसानको फार्मबाट गाईको मल ल्याएर राखेको छ दिनसम्म मललाई बाहिर चिसो बनाइसकेपछि ब्याडमा राखेर त्यसमाथि गँड्यौला राखेपछि मल तयार हुने उहाँले उल्लेख गर्नुभयो ।

ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न सुरु गरिने उल्लेख गर्दै उहाँले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने जानकारी दिनुभयो ।

ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालको भनाइ छ । पोखराबाट ल्याएको तीन किलो गँड्यौलाबाट व्यावसाय सुरु गरेको स्मरण गर्दै उहाँले कुनै औपचारिक तालिम नलिएको जानकारी दिनुभयो ।

अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो रु एक हजार पाँच सयमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । साथै कृषकलाई गँड्यौलापालनसम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ तत्व भएको प्रमाणित भएपछि बजारमा पठाउन सुरु गरेको रिमालले जानकारी दिनुभयो । यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन सुरु भएको उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *