प्रधानमन्त्री ओलीद्वारा काभा वुमन्स भलिबलमा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडीहरू पुरस्कृत

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गर्नुभएको हो । खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही रु एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।

गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौँमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई गरी कूल रु ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो ।