चलचित्र विकास बोर्डको अध्यक्षमा आवाजको दुनियाँको आवाज दिनेश डीसी
काठमाडौँ ।आवाजको दुनियाँको आवाज मानिएका टेलिभिजन कार्यक्रम प्रस्तोता सशक्त सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डीसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार,बोर्ड अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस गरेका तीन आवेदकमध्ये डीसीलाई नियुक्त गरिएको हो । सिफारिस सूचीमा डीसीसँगै दीपा पाण्डे र राजेश थापा थिए । इलाममा जन्मिएका डीसीसँग रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोताका साथै चलचित्र निर्देशनको अनुभव छ।
१८ वर्षअघि चलचित्र ‘सावधान’ बाट निर्देशनमा समेत हात हालेका डीसीले त्यसपछि ‘दाइको ससुराली’, ‘मायाज बार’, ‘छ एकान छ’ निर्देशन गरेका थिए । उनको पछिल्लो निर्देशनात्मक फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ आठ वर्षअघि प्रदर्शनमा आएको थियो ।
त्यसअघि उनी ट्वाक्क टुक्क नामक बहुचर्चित सिरियलवाट कला र कलाकारितामा होम्मिएका हुन्। नेकपा एमालेको भातृसंगठन जनपक्षिय चलचित्रकर्मी संघका अध्यक्ष समेत रहेका उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुन् ।