जग्गा दान गरेको २३ वर्षपछि बागलुङकाे दाबगरामा पुग्यो बस

बागलुङ १९ भदौ । बागलुङ नगरपालिका–४ दाबगराका सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार मा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए ।

लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो ।

“धान फल्ने खेत दान गरेको लामो समयपछि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भन्नुभयो, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।”

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् ।

जग्गादाता गोविन्द उपाध्यायले भन्नुभयो, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उहाँले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिनुभयो । “बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताउनुभयो ।

विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *