भत्किएको कल्भर्ट नबन्दा कञ्चनपुरको वेदकोटका स्थानीयमा आवातजावतमा सास्ती

कञ्चनपुर, २१ भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन ।

व्यस्त राजमार्गमा पर्ने सडककाे कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् ।

बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ ।

“ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ”, स्थानीय डम्बर कार्कीले भन्नुभयो, “कल्भर्ट चाँडै बनाइदिए सजिलो हुुन्थ्यो ।”

गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो । त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै ठप्प भएको थियो ।

कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् ।

त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् ।

चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउनुहुन्छ ।

सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ ।

भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ । विज्ञप्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *