काेरियन भाषा परीक्षा पास गरेका नेपालीहरुले गरे छिटो वैदेशिक रोजगारमा पठाइदिन माग

काठमाडौं, २७ भदौ । काेरियन भाषा परीक्षा पास गरेका नेपालीहरुले आफूहरुलाई छिटो वैदेशिक रोजगारमा पठाइदिन माग गरेका छन् ।

कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास गरेकाहरूले ईपीएस कोरिया शाखा र वैदेशिक रोजगार विभाग पुगेर दुई वर्षभित्र उत्तीर्ण सबैले जान पाउने गरी व्यवस्था गर्न माग गरेका हुन् ।

पानीजहाज निर्माण क्षेत्रमा जान सन् २०२३ मा करिब चार हजार जना नेपालीले कोरियाली भाषा परीक्षा पास गरेका थिए । तीमध्ये तीन हजार ९२७ जना रोजगारीका लागि योग्य ठहरिएका थिए ।

अहिलेसम्म १३७ जना कोरिया गइसकेका छन्, २१० जनाले भिसा जारी भएको पुष्टि हुने प्रमाणपत्र (सीसीभीआई) पाएका छन् भने अरु २१० जनाको श्रम सम्झौता समेत आइसकेको छ ।

भाषा परीक्षा पास गर्ने विद्यार्थीहरुका अनुसार बाँकी तीन हजार ७१७ जना पानीजहाज निर्माण क्षेत्रको रोस्टरमा छन् । परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुको नाम आआफ्नो क्षेत्रको रोस्टरमा चढ्ने र त्यसबाटै रोजगारदाताले छनोट गरेर लैजाने गरेका छन् ।

उत्पादनमूलक क्षेत्रबाट भाषा परीक्षा पास गरेपनि क्षेत्र परिवर्तन गरी पानीजहाज निर्माण क्षेत्रमा कोरिया जाने विद्यार्थीहरू ४३५ जना थिए । तीमध्ये २६६ जना कोरिया गइसकेका छन् भने २६७ जनाको सीसीभीआइ आएको छ ।

२६७ जनाको श्रम सम्झौता आइसकेको छ । क्षेत्र फेरेर पानी जहाज निर्माण क्षेत्रमा आएका १६८ जना कोरिया जान बाँकी छ ।

२०२३ देखि पानीजहाज निर्माण क्षेत्रलाई छुट्टै क्षेत्र कायम गरेर परीक्षा लिइएको थियो । त्यसअघिसम्म पानीजहाज निर्माणलाई पनि उत्पादनमूलक क्षेत्रमा नै राखिएको थियो ।

कामदार छनोटपछि प्रत्येक ३–३ महिनामा कोरियाले जारी प्रक्रिया (इस्यु) अन्तर्गत श्रमिक छानेर लैजान्छ । अहिले जारी प्रक्रियामा छानिने श्रमिकको संख्या न्यून भएको भन्दै भाषा परीक्षा पास गर्नेहरुले संख्या बढाएर श्रमिक लैजाने वातावरण बनाउन माग गरेका हुन् ।

भाषा परीक्षा पास भएको दुई वर्षसम्म जारी प्रक्रियामा नाम नआए रोस्टरबाट नाम हटेर कोरिया जान पाइँदैन भने नयाँ परीक्षा दिनुपर्ने हुन्छ । त्यसैले सकेसम्म छिटो श्रमिक लैजाने व्यवस्था गर्न भाषा परीक्षा पास भएकाहरुले माग गरेका हुन् ।