प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठकआज साँझ बस्दै
काठमाडौं, २८ भदाै । प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको हाे । आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो।
यस बाहेक निर्वाचन आयोगमा एक सदस्य रिक्त छ। यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक जना र समावेशी आयोगमा एक सदस्य रिक्त छ।
राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको छ।