चक्रवात ‘अर्नव’को जोखिम : उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न टानको आग्रह
काठमाडौं, ११ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले चक्रवात ‘अर्नव’को प्रभावबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पथप्रदर्शक, पदयात्री र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
टानले सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कात्तिक १२ गते रातिदेखि नेपालमा चक्रवातको प्रभाव पर्न सक्ने जनाएको छ।
कात्तिक १३ र १४ गते तराई, चुरे तथा मध्यपहाडी क्षेत्रमा चट्याङ र हुरीबताससहित मध्यमदेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको टानले जनाएको छ।
टानले कात्तिक १२ गतेदेखि जोखिमयुक्त क्षेत्रमा पदयात्रा रोक्न, उच्च हिमाली क्षेत्रका आधार शिविरबाट सुरक्षित स्थानमा जान र पर्वतारोहणका लागि यात्रा गर्ने योजना स्थगित गर्न आग्रह गरेको छ। घोराड, लार्के, काड्ला, सारीबुँद, छोला र सूर्यकुण्डलगायतका आधार शिविर तथा तिलिचो जस्ता उच्च क्षेत्रका पर्यटकीय गन्तव्यमा विशेष सतर्कता अपनाउन भनिएको छ।
टानका अध्यक्ष सागर पाण्डेले मनास्लु, मनाङ, म्याग्दी र मुस्ताङ क्षेत्रमा बाढीपहिरोपछि अस्थायी रूपमा मर्मत गरिएका सडक, पदमार्ग र पुल प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका क्षेत्रमा नबस्न पनि टानले अनुरोध गरेको छ।
मौसमसम्बन्धी जानकारीका लागि १११५ तथा विपद्का बेला ०१२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
