जर्मनीकी राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै, भोटेकोशी बाढी प्रभावित क्षेत्र जाने
काठमाडौं, ११ कात्तिक । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ ।
नेपालस्थित जर्मन दूतावासका अनुसार भ्रमणका क्रममा उहाँले जर्मनी–नेपाल विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य क्षेत्र र भोटेकोशी बाढीको प्रभावबारे जानकारी लिनुहुनेछ । उहाँले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिसँग भेटघाट गरी दुई देशबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुहुनेछ ।
जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त रकम तत्कालीन मानवीय सहायता सञ्चालन, प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र दीर्घकालीन पुनर्निर्माण तथा विकास सहयोगमा खर्च गरिनेछ ।
बाढीको प्रभाव र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन राज्यसचिव कोफ्लरले नुवाकोटको भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी र प्रभावित नागरिकसँग छलफल गरी मानवीय सहायता तथा पुनःस्थापनाका आवश्यकताबारे स्थलगत जानकारी लिनुहुनेछ ।
काठमाडौंमा उहाँले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाको भ्रमण गर्नुका साथै स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्नुहुने कार्यक्रम छ ।
भ्रमणका क्रममा नेपालका वर्तमान तथा भावी विकासक्रम र चुनौतीबारे पनि छलफल हुनेछ । छलफलमा गत वर्षको जेनजी आन्दोलन र नेपालमा सङ्क्रमणकालीन न्यायका विषयसमेत समेटिने दूतावासले जनाएको छ ।
सन् २००४ देखि जर्मन संसद्को सदस्य रहनुभएकी कोफ्लर सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आउनुभएको छ ।
राज्यसचिव कोफ्लरले यसअघि सन् २०२२ मा पनि नेपालको भ्रमण गर्नुभएको थियो ।
