नवलपरासीमा आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै

नवलपरासी, ६ असोज । नवलपरासीमा पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य केन्द्र आउने बिरामीको सङ्ख्या तीनगुणाले बढेको डा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य केन्द्रमा आव २०७८/७९ मा आठ हजार दुई सय ३० बिरामीले सेवा लिएकामा गत आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या बढेर २५ हजार दुई सय ९६ पुगेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य केन्द्रबाट २३ हजार पाँच सय ३८ बिरामीले सेवा लिएका डा शर्माले बताउनुभयो ।

गत वर्ष अस्पतालबाट आठ हजार नौ सय ९४ जनाले बहिरङ्ग सेवा लिएकाे भन्दै उहाँले नौ हजार तीन सय ८१ जनाले नागरिक आरोग्य सेवा लिएका बताउनुभयो । त्यस्तै एक सय ४९ जनाले स्तनपायी आमा सेवा कार्यक्रम, दुई सय ७५ जनाले ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, दुई हजार सात सय २१ जनाले पञ्चकर्म कार्यक्रम, एक सय २९ जनाले स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग, एक सय ४९ जनाले कर्पोरेट योग, तीन सय ९२ जनाले उपचारात्मक योग सेवा लिएका डा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी तीन सय ३२ जनाले भिडियो एक्स–रे सेवा, दुई जनाले शल्यचिकित्सा, दुई सय ३३ जनाले ज्येष्ठ नागरिक आरोग्य सेवा, दुई हजार दुई सय १३ जनाले प्रयोगशाला परीक्षण तथा तीन सय २६ जनाले अन्य आयुर्वेद कार्यक्रम लिएका उहाँको भनाइ छ । स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवामध्ये प्रयोगशाला, भिडियो एक्स–रे तथा शल्यक्रियामा शुल्क लाग्ने भए पनि अन्य सबै प्रकारका सेवाहरु निःशुल्क उपलब्ध हुने गरेको डा शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रबाट बिरामीलाई औषधिसमेत निःशुल्क वितरण हुँदै आएको डा शर्माले बताउनुभयो । “सरकारले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्नुपर्ने नियम बनाएको छ”, उहाँले भन्नुभयो, “तर, अहिले हामीले यहाँ उपचार गर्न आउने बिरामीलाई विभिन्न ३० प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध गराउँदै आएका छौँ ।”

स्वास्थ्य केन्द्रबाट अम्लपित्त, हाडजोर्नी, पिनास, पाइल्स, फिसर, पेटको रोग, स्त्रीरोग, छालासम्बन्धी रोग, वातरक्त (युरिक एसिड), श्वास, कास, शिर रोग, मिर्गौलाको पत्थरी, उच्च रक्तचाप, मधुमेहलगायत रोगको उपचार गरिँदै आएको डा शर्माले जानकारी दिनुभयो । आयुर्वेदिक उपचार पद्धतिबाट बिरामी निको हुन समय लाग्ने भए पनि बिरामीमा कुनै पनि खराब असर नपर्ने भएका कारण बिरामीको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *