शुक्रराज ट्रपिकल अस्पताल टेकुमा सरुवा रोगका बिरामीको चाप

काठमाडौँ, ७ असोज । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सरुवा रोगका बिरामीको चाप बढेको छ ।

अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको अस्पतालले जनाएकाे हाे । अस्पतालका निर्देशक डा युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताउनुभयो ।

उहाँले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताउनुभयो । उहाँका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् ।

अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा बसौलाले बताउनुभयो । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ ।