राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति भवन शीलत निवासमा भेटवार्ता

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश फर्केपछि सोबारे जानकारी दिन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति पौडेलले राजनीतिक दलहरू मिलेर मुलुकमा देखिएका समस्याको समाधान खोज्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

गाउँगाउँमा आधारभूत सुविधा पुगेर बस्ने अवस्था सृजना भए पनि रोजगारी र आम्दानी नभएकाले मानिसहरू गाउँ छोडिरहेको बताउँदै उहाँले त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति पौडेलले हालै गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले अहिले देखिएको जटिलतालाई मुक्त गर्दै सुशासन कायम गरेर लोकतन्त्रलाई अझै सुदृढ बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले दुई ठूला दल मिलेर वनेको वर्तमान सरकारले सुशासन र विकासमा आफूलाई केन्द्रित गरेको पनि उल्लेख गर्नुभएको थियो ।