माल्दिभ्समाथि नेपालले ११ गाेल हान्दै उत्कृष्ट जित हासिल, प्रीतिले गरे ह्याट्रिक
काठमाडौँ ५ कात्तिक । नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो ।
नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे ।
जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।
समान चार अङ्क बटुलेको भुटान अङ्क तालिकाको दोस्रो स्थानमा छ । अब भुटानले माल्दिभ्स र नेपालले श्रीलङ्कासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । यसै खेलले समूहका विजेताको टुङ्गो लाग्नेछ । उक्त खेल यही कात्तिक ८ गते हुनेछ ।
साफ च्याम्पियनसिपअन्तर्गत यही कात्तिक ७ गते भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।