एनपिएल : जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्स विजयी
काठमाडौँ, १० कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र हरमित सिंहले समान १९ रन जोड्दा जेम्स निसमले १५, मयन यादवले १४ र अनिल शाहले ११ रन बनाए।
कर्णालीका हुसेन तलत र उनीश ठाकुरीले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिएपछि जनकपुर लक्ष्यसम्म पुग्न सकेन।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रनको योगदान दिए। दीपक डुम्रेले पाँच बलमा दुई छक्काको मद्दतमा १३ रन बनाउँदा गुल्सन झाले १२ रन जोडे।
जनकपुरका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिँदै दुई विकेट हात पार्दा मोइन अलीले पनि दुई विकेट लिए। ललित राजवंशीले एक विकेट लिए।
यस जितसँगै कर्णाली याक्सले एनपिएलमा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ।
