एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ

बझाङ, ११ कात्तिक । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।
अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । “दुई सातामा अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो”, खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भन्नुभयो, “अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।” यस्तो बेमौसमी स्याउ आफूले कहिल्यै नदेखेको उहाँले बताउनुभयो ।
जोशीले भन्नुभयो, “गत चैतमा टुसाउँन सुरु भएको स्याउ फूलेर, फलेर असारमा सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहन्छ । अहिले तीन महिनापछि भने स्याउ लटरम्म फलेको देखियो ।”
पाँच वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमा कुहिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोट मर्ने अवस्थामा छन् । फल फुटेर खेर गयो । त्यो बेला कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।” अहिले बेमौसममा स्याउ लटरम्म फलेका जोशीले बताउनुभयो ।
लामो समय भारत बसेर दसैँ बिदामा घर आउनुभएका खप्तडछान्ना–५ का देवप्रसाद शर्माले भन्नुभयो, “कात्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो ।” लामो समय स्याउ बगैँचामा काम गरेको अनुभव सुनाउँदै ६६ वर्षीय शर्माले अहिले आश्चर्यमा परेको उल्लेख गर्नुभयो । अहिले हुर्किरहेको स्याउ मौसममा आएको परिवर्तनका कारण हुनसक्ने उहाँले धारणा राख्नुभयो ।
“एकपटक भारतको उत्तर प्रदेशमा पनि मौसम फेरबदल भएको भन्दै मौसम अनुकूलका स्याउका बोट रोपिएको थियो । यहाँ पनि त्यस्तै बोट रोप्नुपर्ने अवस्था आएको हो कि ?”, शर्माले प्रश्न गर्नुभयो । अहिले मौसम उपयुक्त नभएकाले फलेका स्याउ बोटमै सुक्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिलेपहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।”
गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताउनुभयो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले मौसम फेरबदल हुँदा बेसिजनमा स्याउका बोटमा फल लागेको बताउनुभयो ।